Pashupati Area, Kathmandu, Nepal
+977 9818024688
Get Membership
ओम् वैदिक फाउन्डेशनको उद्घाटन समारोह सम्पन्न

२०८२ असार २८, काठमाडौं — नेपालमा वैदिक जीवनशैली, सनातन ज्ञान, आधुनिक विज्ञान र प्रविधिको समन्वयद्वारा आध्यात्मिक जीवनशैली प्रवर्द्धन गर्दै समृद्ध र सन्तुलित समाज निर्माण गर्ने उद्देश्यले ओम् वैदिक फाउन्डेशनको आज उद्घाटन समारोह भव्यताका साथ सम्पन्न भयो। संस्थाको दृष्टिकोण वैश्विक (global) समुदायमा वैदिक विज्ञानमा आधारित आध्यात्मिक अर्थतन्त्रको विकास गर्नु हो भने यसको मिशन नेपालमा एक विश्वस्तरीय शैक्षिक र अनुसन्धान केन्द्रको स्थापना गरी वैदिक शिक्षाद्वारा सामाजिक रूपान्तरण र समग्र जीवन सुधार गर्नु हो।

समारोहमा संस्थाका प्रमुख कार्यकारी अधिकृत श्री देवराज गौतमले संस्थाको उद्देश्य, ज्योतिषशास्त्र, ध्वनि तरंग, र प्राकृतिक चिकित्सा विधिहरूको वैज्ञानिक पक्षबारे विस्तृत जानकारी दिनुभयो। उहाँले ज्योतिषले कसरी जीवन सरल बनाउन सक्ने भन्ने विषयमा विशेष जोड दिनुभयो। त्यसपछि श्री डा. आर. एम.ले ‘ओम् वैदिक वेलनेस कार्यक्रम’ को अवधारणाबारे जानकारी दिनुभयो। उहाँले holistic wellness र वैदिक उपचार प्रणालीका बारेमा धारणा राख्नुभयो।

समारोहका प्रमुख अतिथि अध्यक्ष, वर्ल्ड एस्ट्रो फेडेरेसन नेपाल तथा ख्यातिप्राप्त वैदिक ज्योतिषाचार्य श्री डा. लोकराज पौडेलले वैदिक दृष्टिकोणबाट जल, ऊर्जा र तत्त्वहरूको महत्त्वबारे व्याख्या गर्नुभयो। उहाँले जलको गुणस्तर, प्रयोग र प्रभावबारे गरिएको अनुसन्धानको उदाहरण दिँदै परम्परागत ज्ञानलाई वैज्ञानिक दृष्टिकोणबाट बुझ्नुपर्ने आवश्यकता औंल्याउनुभयो।

भ्रष्टाचारविरोधी अभियन्ता तथा समाजसेवी पूर्व डीआईजी श्री रमेश खरेलले सामाजिक सदाचार, शुभकर्म र जातीय समानताको विषयमा मन्तव्य दिँदै वैदिक मूल्यहरूले समाजमा सकारात्मक परिवर्तन ल्याउन सक्ने बताउनुभयो।

पूर्व प्रमुख वैज्ञानिक अधिकृत, नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (NAST)  र नेचर्स मोलेक्युल इन्डस्ट्रीका प्रमुख कार्यकारी अधिकृत श्री डा. कान्ति श्रेष्ठले ध्वनि तरंग, औषधीय वनस्पति, मूल कर्पुर र धूपको प्रयोगजस्ता परम्परागत विधिहरूको वैज्ञानिक पक्ष प्रस्ट गर्नुभयो।

हेल्थ सेक्टर डिजिटाइजेसनका अगुवा र वैदिक ज्ञानप्रति सम्मान राख्ने चिकित्सा विज्ञ श्री डा. सुभाष प्याकुरेलले अध्यात्म र शारीरिक स्वास्थ्यबीचको सम्बन्धबारे ECG परीक्षणसहित प्रस्तुत गर्नुभयो।

तन्त्रलाई वैज्ञानिक तरिकाले बुझ्ने तन्त्रका विज्ञ श्री डा.  शहदेव विष्टले कम्पन र नयाँ ऊर्जा ढाँचा (energy pattern) को वैज्ञानिक व्याख्या गर्नुभयो भने येटिकेम डिस्ट्रीब्युटर्स प्रा. लि. का अध्यक्ष श्री प्रभु वैद्यले परम्परागत ज्ञानको संरक्षण र नयाँ पुस्तालाई वैज्ञानिक ढंगले बुझाउनुपर्ने आवश्यकता औंल्याउनुभयो।

कार्यक्रमको समापनमा ओम् वैदिक फाउन्डेशनकी अध्यक्ष श्री रबिना गोर्खाली बनेपालीले सम्पूर्ण अतिथिहरू, सहभागीहरू, प्राविधिक टोली, स्वयंसेवक, कार्यक्रम व्यवस्थापक, तथा शुभचिन्तकहरूलाई धन्यवाद व्यक्त गर्दै कार्यक्रममा दिइएका सल्लाह, सुझाव र समर्थनप्रति कृतज्ञता प्रकट गर्नुभयो।

सम्पर्क:
श्री रामबाबु शाह
सूचना अधिकारी
ओम् वैदिक फाउन्डेशन, पशुपति रोड, काठमाडौं, नेपाल
फोन: +९७७ ९७६५००५०६३, E: omvedic.org.np, वेबसाइट: omvedic.org.np